लेखक हितानको ‘ब्लु प्लानेट’माथि परिचर्चा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो साहित्य समाज नेपालको आयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो ।

‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । यो हितनको दोस्रो कृति हो । १६ कथा संग्रहीत ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहन भई रहेको छ,’ उनले भने ।

लेखकको वातारणसम्बन्धि गहिरो बुझाई रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा वातावरणसम्बन्धि बुझाई र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए ।

लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो । लेखकीय अनूभुति सुनाउँदै लेखक हितानले पर्या लेखन अरुले पनि लेख्नु पर्ने बताए । उनले पर्यावरण जोगाउनका लागि सबै जना लाग्नुपर्ने बताए । ‘हामी सबैले लेख्नु पर्छ । हामीले लेख्यो भने फरक पर्छ,’ उनले भने ।

लेखक हितान पूर्व ब्रिटिश आमी हुन् । ओपन युनिभर्सिटीबाट वातावरण पढेका हितान हाल बेलायतको इन्भायोर्मेन्ट एजेन्सीमा काम गर्छन् ।

  • १२ चैत्र २०७८, शनिबार १९:२२ प्रकाशित