आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था हुदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको छ।

अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द भएको जानकारी गराएको छ।

विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको सूचना अधिकारी भुसाल बताउँछन्।

उनका अनुसार परीक्षा कोटा बढाउने तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी विभागको छ। विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको समेत उनले जानकारी दिए।

लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने गरी व्यवस्था गरिने उनको भनाइ छ।गत मंसिरमा आएको १४ लाख नयाँ कार्डमा अब साढे दुई लाख छाप्न बाँकी रहेको विभागले बताएको छ।

यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो।

  • ८ चैत्र २०७८, मंगलवार १६:४६ प्रकाशित