घुस लिएको आरोपमा यातायात कार्यालयका ९ जनाविरुद्ध मुद्दा दायर

केन्द्रभाग मिडिया

सवारी चालक अनुमतिपत्र लाइसेन्समा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय कास्की,गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

ट्रायलमा फेल भएकाहरू र उपस्थित नभएकाहरुसँग घुस लिएर पास गराएको आरोपमा विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारले मुद्दा दायर गरेकाहरूमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृत गोकुल शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ तहका भरतराज काफ्ले, अधिकृतस्तर आठौँ तहका भरतमणि बराल रहेका छन् । यस्तै अधिकृतस्तर सातौँ तहका प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ तहका होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र कम्प्युटर अपरेटर मोहनमणि सुवेदीमाथि पनि मुद्दा दायर भएको छ ।

उनीहरूले २०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन भएका प्रयोगात्मक परीक्षा मध्येबाट विभिन्न मितिमा सञ्चालन भएका परीक्षामा फेल भएका तथा उपस्थित नभएका एक सय १६ जनालाई पास गराएको पाइएको छ ।

यस्तै पास भएका दुई जनालाई नतिजा अपडेट गर्ने बेलामा फेल गराएर एक सय १८ जनाको नतिजा फेरबदल गराएको पाइएको छ ।

  • ४ चैत्र २०७८, शुक्रबार १५:२४ प्रकाशित