आज होली: पोखरामा ४०० बढी सुरक्षाकर्मी परिचालन, जबरजस्ती रङ दल्ने र लोला हान्नेलाई पक्राउ

केन्द्रभाग मिडिया

उमा वि.क / पोखरा ।

आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली । काठमाडौं उपत्यका,पोखरासहित पहाडी तथा हिमाली भेगमा आज एक अर्कालाई रङ लगाएर होली मनाईदैछ ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

आज होलि मनाईने स्थानहरुमा  होलि विशेष विभिन्न कार्यक्रमको आयोजना हुदैँछ । यता पोखरामा लेकसाइडको हल्लनचोक, बाराहीघाट, सेन्टरपोइन्ट लगायत अन्य स्थानहरुमा पनि होली स्पेसल कार्यक्रमहरु हुने भएको छ। होली स्वतन्त्र रुपमा मनाइने पर्व भएकाले स्वतन्त्रताकै नाममा उच्छृङखल तथा अभद्र गतिविधि क्रियाशिल हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सुरुक्षा व्यवस्था कडा बनाएको बताएको छ।

पोखराका विभिन्न स्थानमा आयोजना भएको होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ४०० बढी सुरक्षाकर्मी परिचालन गरिएको कास्की प्रहरी प्रवक्ता(डिएसपी) सुन्दरमणी तिवारीले केन्द्रखबरलाई जानकारी दिए ।

प्रवक्ता तिवारीले भने,‘होली पर्व एक स्वतन्त्र रुपमा मनाईने पर्व भएकाले यस दिन विशेष गरि अलि बढि उच्छृङखल गतिविधिहरु हुन सक्छन्, अभद्र व्यवहार, जबरजस्ती रङ दल्ने जस्ता गतिविधि हुन सक्छ, ती कुरालाई ध्यानमा राख्दैँ पोसाक र सादा पोसाक गरि ४०० बढी सुरुक्षा कर्मी आजका लागि विशेष परिचालन भएको छ । ’

भिडभाड हुने ठाउँ लेकसाइड, फुटट्रयाक, खपौदी,बाराहीघाट, हल्लनचोक लगायतका स्थानमा पोसाक र सादा पोसाकमा प्रहरी पैदल गोष्ठीमा खटिने पनि उनले बताए । प्रवक्ता तिवारीले पोखरामा दुई सिफ्टमा प्रहरी डियुटीमा खटिने जनाएका छन् । उनले भने,आज बिहान ११ बजेबाट साँझ ६ बजेसम्म एक सिफ्ट र साँझ ६ देखि राती १२ बजे सम्म अर्को सिफ्ट गरि सुरक्षाकर्मी डियुटीमा रहने छन् ।’

ड्रिकं एण्ड ड्राइभ गर्ने, बाइक स्कुटरमा ट्रिपल चढ्ने, हेलमेट नलगाउने, रफ चलाउने, बिलबुक/लाइसेन्स नबोक्ने सबैलाई नियन्त्रणमा लिइने डिएपी तिवारीले बताए । त्यसका लागि पोखराका मुख्य चोकहरुमा चेकिङ पोष्ट राखिने बताइएको छ।

होली लक्षित ‘सुरक्षा योजना’ लागु भएको बताउँदै प्रवक्ता तिवारीले जबर्जस्ती रंग नदल्न र इच्छाविपरीत लोला नहान्न आग्रह गरे। चिनजान नभएका र काम विशेषले हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने र रंग दल्ने गरेको भेटिए नियन्त्रणमा लिई मुद्दा चलाइने प्रवक्ता तिवारीले बताए । उनले भने, ‘अनिच्छुकलाई लोला हान्ने र अवीर दलेको भेटिएमा कानुन बमोजिम नियन्त्रणमा लिन्छौं ।’

व्यक्तिगत रिसीवीई नराखी सभ्य भई होली खेल्न जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पूर्णमा आग्रह गरेको छ।

होलीको नाममा जबर्जस्ती लोला हान्नेलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकार प्रहरीलाई छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

  • ३ चैत्र २०७८, बिहीबार ०९:२० प्रकाशित