काठमांडौ ।
जनमोर्चा नेपाल पाँच दलीय गठबन्धनमै रहेको सरकारमा प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। सञ्चारमन्त्रीसमेत रहेका कार्कीले बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि यस्तो बताएका हुन्।
‘अहिले हाम्रा आफ्ना धारणाहरु सजिला र अफ्ठ्यारा पक्षबारे छलफल गरेर निष्कर्षमा लैजान्छौँ, उनले भने, ‘दलहरु र गठबन्धनमा छलफल गर्छौँ। एमसीसीको विषयमा मात्रै जनमोर्चाको फरक मत रहेको छ। जनमोर्चाले सरकारलाई दिने समर्थनबारे निर्णय गरेको छैन।’
सरकारले गत १५ गते सदनबाट एमसीसी पास गरेपछि चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ।
ऊ अहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगै ६ दल मिलेर एमसीसीविरुद्ध आन्दोलनमा छ। जनमोर्चाले गठबन्धन छाडेपछि गण्डकी प्रदेश सरकार पनि धरापमा परेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे जनमोर्चाले आगामी फागुन २७ गते केन्द्रीय कमिटी बैठकबाट निर्णय लिने भएको छ।