सुनसरीमामा विरोध प्रर्दशनले लियो उग्र रुप : प्रर्दशनकारीले गरे तोडफोड,आगजनी र भौतिक आक्रमण

केन्द्रभाग मिडिया

विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किदाँ भएको विरोध प्रदर्शनले आज उग्र रुप लिएको छ । आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको ज्यान गएपछि आक्रोशित बनेका प्रदर्शनकारीले सोमबार सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन् ।

प्रहरी स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीको समूहले देवानगञ्जमा तीन(चार वटा घरमा आगजनी गरेका छन् । केही पसलको सामग्री बाहिर निकालेर आगो लगाइदिएका छन् । बजारमा रहेका सवारी साधनमा समेत आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो देवानगञ्ज–२ स्थित गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र घर अगाडि पार्किङ गरिएको को२त ५८५२ नम्बरको ट्याक्टरमा आगजनी गरेको थियो ।

अबाफ अन्सारीको टिनले छाएको कच्ची घर र दुई वटा मोटरसाइकलमा समेत आगजनी भएको थियो । देवानगञ्ज–३ कप्तानगञ्जमा परालको दुई वटा टालीमा पनि आगजनी भएको थियो ।

प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ । बजारबाट घर फर्कने क्रममा एउटा समूहले उनलाई नियन्त्रणमा लिएर दिउँसो टाउकोमा धारिलो हतियार प्रहार गरेको हो । आक्रमणबाट घाइते उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताएका छन् ।

कप्तानगञ्जमा आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।

घटनामा गोली लागेर ९ जना सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना बढी घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार बिहानैदेखि प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।

अवस्था नियन्त्रणबाहिर गएपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरेको छ । सेनाको उपस्थितिपछि कप्तानगञ्ज क्षेत्रमा केही समय प्रदर्शनकारीहरू तितरबितर भए पनि त्रासको वातावरण भने कायमै छ ।

  • ११ श्रावण २०८३, सोमबार १६:५९ प्रकाशित