काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हवाई आक्रमण लगातार दोस्रो दिन पनि स्थगित गरेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार कूटनीतिक वार्तालाई थप समय र अवसर दिन राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका हुन् ।
फक्स न्युजसँग आइतबार कुरा गर्दै वाल्ट्जले राष्ट्रपति ट्रम्पले वार्तालाई अघि बढ्न केही समय दिन चाहेको बताए । कूटनीतिक पहल सफल हुने सम्भावना रहेकाले तत्काल थप सैन्य आक्रमण नगर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।
यसको प्रतिक्रिया स्वरूप इरानले पनि पश्चिम एसिया क्षेत्रमा आफ्ना प्रतिशोधात्मक आक्रमण अस्थायी रूपमा रोकेको जनाएको छ । इरानी सेनाका एक प्रवक्ताका अनुसार अमेरिकाले आक्रमण नगरेसम्म इरानले पनि प्रतिआक्रमण नगर्ने नीति अपनाएको छ ।
करिब दुई सातादेखि अमेरिका र इरानबिच दैनिकजसो आक्रमण भइरहेको थियो। यसले जुन महिनामा भएको युद्धविराम सम्झौता प्रभावहीन बनेको थियो।
एनबीसीसँगको अन्तर्वार्तामा वाल्ट्जले राष्ट्रपति ट्रम्पले सैन्य विकल्प त्यागेको भन्ने निष्कर्ष निकाल्न नहुने बताए । उनका अनुसार आवश्यक परेमा अमेरिकासँग सबै विकल्प खुला रहनेछन्।













