भारतको अटोमोबाइल निर्यातमा सुधार

केन्द्रभाग मिडिया

साउन ३, नयाँ दिल्ली (भारत) । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अटोमोबाइल निर्यातमा सुधार आएको छ । समीक्षा अवधिमा यात्रुबाहक सवारी साधन र दुई पाङ्ग्रेसमेत सबै श्रेणीका सवारी साधनको निर्यात सुध्रिएको भारतीय अटोमोबाइल उत्पादक समाज (सीयाम)को तथ्यांकले यस्तो देखाएको हो ।

यस वर्षको अप्रिल–जुन त्रैमासमा कुल १४ लाख १९ हजार ४३० थान सवारी साधन निर्यात भएका छन् । निर्यातको यो आकार गत आवको सोही अवधिको तुलनामा निकै धेरै हो ।

कोरोना भाइरसको महामारीका कारण देशव्यापी रुपमा गरिएको लकडाउनबीच आर्थिक वर्ष २०२०/२१ को पहिलो त्रैमासमा भारतबाट ४ लाख ३६ हजार ५०० थान मात्रै सवारी साधन निर्यात भएको थियो । अघिल्लो तीन वर्षको तुलनामा दुई पाङ्ग्रेको निर्यात राम्रो भएको सीयामका महानिर्देशक राजेश मेननले बताएका छन् ।

यात्रुबाहक सवारी साधन, तीन पाङ्ग्रे र व्यवसायिक प्रयोजनका सवारी साधनको निर्यात संख्या भने आथिर्क वर्ष २०१८/१९ को पहिलो त्रैमासको भन्दा कम रहेको बताइएको छ ।

समीक्षा अवधिमा यात्रुबाहक सवारी साधनको निर्यात १ लाख २७ हजार ११५ थान रहेको छ । यो गत आवको सोही अवधिको भन्दा ४३ हजार ६१९ थान बढी हो । सो अवधिमा ७९ हजार ३७६ थान यात्रुबाहक कार निर्यात भएको छ ।

यो पनि अघिल्लो आवको तुलनामा ४७ हजार १५१ थान धेरै हो । गत वर्षको सोही अवधिमा ३ लाख ३७ हजार ९८३ रहेको दुई पांग्रेको निर्यात पनि समीक्षा अवधिमा बढेर ११ लाख ३७ हजार १०२ थानमा पुगेको छ । अन्य श्रेणीका सवारी साधनको निर्यातमा पनि यस अवधिमा उच्च वृद्धि देखिएको छ । एजेन्सी

  • ३ श्रावण २०७८, आईतवार १५:५६ प्रकाशित