सरकारको आरोपः ‘एमाले संवादबाट भाग्यो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद खुलाउन आग्रह गरेको छ । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अवरोध भईरहेको संसद खुलाउन सकारात्मक भुमिका खेल्न आग्रह गरेको हो ।

संसदीय गतिरोध अन्त्यका लागि छलफल गर्न डाकिएको बैठकमा ओलीसँगै एमाले नेताहरु अनुपस्थित रहेका थिए । छलफलका लागि सहमति जुटाउन बोलाउँदा पनि एमाले सहभागी नभएको भन्दै सरकारले एमाले संवाद र वार्ताबाट भाग्न खोजेको आरोप लगाएको छ ।

संसद अवरुद्ध गर्दै आएको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’

सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षीलाई आग्रह गरेका छन् ।

२३ भदौमा सुरु भएको संसद अधिवेशनमा एमालेले अवरोध गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोग गरेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार १२:४१ प्रकाशित