कालिका बहुमखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेवारी युवा उद्यमी किरणलाई

केन्द्रभाग मिडिया

पोखरा ।
कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसीले सम्हालेका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो घरायसी व्यस्तता जनाउँदै अध्यक्षको जिम्मेबारी हस्तान्तरण गर्न चाहे पछि उनलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. १४ स्थित काजिपोखरीमा रहेको उक्त क्याम्पस पोखरामा सेती पारीको पहिलो र उत्कृष्ट सामुदायिक क्याम्पस हो ।

केसी ग्रुपका निर्देशक युवा उद्यमी केसी पोखराका प्रतिष्ठित उद्योगपति स्व. सूर्यबहादूर केसीका माहिला छोरा हुन् । नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सांसद रहेका सूर्यबहादूर केसीको निधन पछि छोरा किरण केसीले आफ्नै बावुको पथ पछ्याउदै राजनीति र समाजसेवामा अग्रसर छन्।

क्याम्पस सञ्चालक समितिको बैठकले समितिका सदस्य बोध बहादूर कार्कीलाई सञ्चालक समितिको उपाध्यक्षको जिम्मेबारी प्रदान गरेको छ । बैठकले क्याम्पसको विकासको लागि विभिन्न निर्णय गरेको क्याम्पस प्रमुख रबीन्द्र नाथ बास्तोलाले जानकारी दिए ।

  • २४ भाद्र २०७८, बिहीबार २०:२४ प्रकाशित