हुम्लामा टेलिफोन सेवा अवरुद्ध

केन्द्रभाग मिडिया

 

हुम्ला ।

हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा प€रेका छन् ।

खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन् । उनका अनुसार दुई साताभन्दा बढीदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छाडेको छ । रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको हो ।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप र उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या बनाएको स्थानीयको भनाइ छ ।

रीप गाउँका विनोद फडेराले मौसम परिवर्तन भएको समयमा वर्षा हुँदा कुनैबेला अचानक क्षति भए पनि फोन गर्न टावर नहुँदा समस्या बनाएको बताए । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उहाँको भनाइ छ । यस्तै, पालिका केन्द्र सर्केगाडमा पनि नमस्ते टेलिफोन सेवाले काम गर्न नसकेको सर्केगाडमा व्यवसाय गर्दै आउनुभएका गगन ऐडीले बताए ।

 

  • २० असार २०८२, शुक्रबार १४:०९ प्रकाशित