पोखरा बहुमुखी क्याम्पसले मनायो क्यूएए उत्सव

केन्द्रभाग मिडिया

पोखरा ।
विश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमसहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने व्यक्ति, संस्था ,सरोकारवाला, बिद्यार्थी तथा क्याम्पस परिवार सदस्यहरुलाइ लक्षित गर्दै धन्यवाद समारोह आयोजना गर्यो ।

पोखरा बहुमुखी क्याम्पस बिसं २०४४ सालमा स्थापना भएको कास्की जिल्लाकै सबैभन्दा पूरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यहि २१ जेठमा विश्वबिद्यालय अनुदान आयोगबाट क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो ।

यसअघि क्याम्पसले प्रभातफेरी समेत आयोजना गरेको थियो । बिभिन्न समयमा क्याम्पसलाइ सहयोग पुर्याउँदै आएका सामाजिक व्यक्ति, सरोेकारवाला, चन्दादाता, अक्षयकोषका संस्थापक, बिद्यार्थी तथा क्याम्पस परिवार समेत करिव ५०० जनाको सहभागितामा नेपाली पंचेबाजा सहित पभातफेरी गरिएको थियो । उक्त प्रभातफेरि बिहान ६ः ३० बजे क्याम्पस प्राङ्गण शान्तिबनबाट शुरु भइ प्रदर्शनीमार्ग, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंङ्गा, न्यूरोड, पृथ्वीचोकहुँदै क्याम्पसमा पुगी धन्यवाद समारोहमा परिणत भएको थियो ।

यसैबिच उक्त समारोहलाइ सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले क्याम्पसलाइ एक गुणस्तरीय शैक्षिक संस्थाका रुपमा उभ्याउन क्याम्पसले गरेका संघर्ष र एक सामाजिक व्यक्तिका हैसियतले आँफू पनि सहभागी भएका क्षणहरु स्मरण गरे। उनले क्याम्पसलाइ हार्दिक बधाइ ज्ञापन गर्दै क्याम्पसको यस गुणस्तरलाइ कायम राख्दै अगाडि बढ्नुपर्ने बताए । उनले आगामी दिनमा आफ्नो तर्फबाट निरन्तर सहयोग हुने समेत प्रतिवद्धता जनाए ।

उक्त समारोहमा क्याम्पसलाइ शुभकामना दिँदै भागवत भाष्कर पंडित कमलनयन गौतमले सामुदायिक क्याम्पस बिद्यार्थीको पहिलो रोजाइ बनाउन सबै मिलेर काम गर्नुपर्ने बताए । क्याम्पसलाइ सहयोग गर्न आँफू सदैव तत्पर रहने पनि उनले जनाए ।

कार्यक्रममा क्याम्पस संस्थापक सदस्य तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बिद्यार्थी तथा नयाँ युगका युवापुस्ताको चाहना र बजार माग अनुरुपका शैक्षिक कार्यक्रम सञ्चालन गरि गुणस्तरीयता कायम राख्ने दिशामा अघि बढ्न क्याम्पसलाइ सुझाव दिए ।

त्यसैगरि क्याम्पस सञ्चालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले बिद्यार्थी, कर्मचारी, शिक्षक लगायत समुदाय र सरोकारवालाको प्रेरणा र हौसला प्रति आँफू सदैव श्रृणी रहने बताए । कार्यक्रममा क्याम्पस प्रमूख शिशुकला पराजुलीले क्याम्पसले प्राप्त गरेको हौसलालार्इ जतन गर्दै सम्पूर्ण अभिभावकको क्याम्पस प्रतिको आशा भरोसा सदैव संबोधन गर्ने प्रतिवद्धता जनाइन् ।

कर्यक्रममा , क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस गुणस्तर सुनिस्चित समिति संयोजक महेन्द्र रिमाल, त्रिभूवन विश्वबिद्यालय पीआरटी टिमका सदस्य तथा क्याम्पस संचालक समिति सदस्य तेजनारायण अधिकारी, स्थानीय सामाजिक व्यक्तित्व तथा क्याम्पसका पूर्व बिद्यार्थी प्रिति पाण्डे, अक्षयकोषदाता गोविन्द शेरचन, क्याम्पस प्राध्यपक संघका अध्यक्ष भिम प्रसाद न्यौपाने, क्याम्पस भूपू बिद्यार्थी मञ्चका अध्यक्ष सुर्य बहादुर थापा र क्याम्पसका बिद्यार्थीहरुको समूह नेचर क्लवका अध्यक्ष गणेश रामदाम लगायतले बोलेका थिए ।

  • ३१ जेष्ठ २०८२, शनिबार १८:५५ प्रकाशित