जनप्रिय बहुमुखी क्याम्पसद्वारा समुदायमा सरसफाइ

केन्द्रभाग मिडिया

पोखरा ।

विश्व वातावरण दिवस २०२५ को छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको समन्वयमा बिहीबार समुदायमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे क्याम्पसको कक्षाकोठामा मात्रै सीमित नरही वातावरण संरक्षणको सन्देश र सचेतना दिन सरसफाइ कार्यक्रमले सामाजिक उत्तरदायित्व निभाउने हुँदा विद्यार्थीलाई व्यवहारिक शिक्षा दिएको बताए । विजुक्छेले एनएसटिसी क्लबका प्रमुख समुद्र आचार्यलाई सफाइ सामग्री दिँदै कार्यक्रमको उद्घाटन गरेका थिए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्व वातावरण दिवसले हामीलाई पृथ्वीप्रति हाम्रो कर्तव्य संझाएको छ । ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ, साझा चुनौतीमा साझा प्रयास गरौँ’ भन्ने नारासहितको यस अभियानले समुदायमा वातावरणीय चेतना अभिवृद्धिमा सघाएको हुँदा यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले उच्च शैक्षिक संस्था र उच्चशिक्षा लिने विद्यार्थीहरूमा स्वच्छ वातावरण निर्माणका लागि जिम्मेवारीको भावना विकास गर्दै सानासाना प्रयासबाट परिवर्तन सम्भव छ भन्ने सन्देश दिने उद्धेश्यले सरसफाइ अभियान गरिएको बताइन ।

अभियानमा सञ्चालक समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय समुदायका व्यक्तिले क्याम्पस परिसर, पुरानो एयरपोर्ट देखि रत्नचोकसम्मको सरसफाइ गरेका थिए । प्लास्टिकजन्य फोहर व्यवस्थापनका उपायहरूबारे जनचेतना दिँदै प्लास्टिक प्रदूषणविरुद्ध ऐक्यवद्ध हुन प्रेरित गरिएको जानकारी सहायक प्रशासक महादेवकुमार पालिखेले दिए ।

विश्व वातावरण दिवस २०२५ को सन्देशलाई आत्मसात गर्दै जनप्रिय क्याम्पसले गरेको यो पहलले स्थानीय स्तरमा वातावरणीय संरक्षणको अभ्यासलाई सबल बनाउने विश्वास गरिएको छ ।

  • २२ जेष्ठ २०८२, बिहीबार १७:१७ प्रकाशित