काठमाडौँ ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अडान लिएको छ । गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको मागलाई ‘बटमलाइन’ बनाएको रास्वपाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आफूलाई अन्तिमसम्मै साथ दिने विश्वास व्यक्त गरेको छ ।
अर्को विपक्षी दल एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिए पनि माओवादीले भने साथ नछाड्नेमा रास्वपा विश्वस्त देखिएको हो ।
भिजिट भिसा प्रकरणमा रास्वपाले राजावादी पार्टी राप्रपालाई समेत आफूहरूको मागमा सहमत गराउने प्रयत्न गरेको छ । एकीकृत समाजवादी पहिलो दिनको बैठकबाटै गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिएपछि रास्वपाले राप्रपा लगायतका दलहरूसँग पनि साथ माग्ने भएको हो । राप्रपा आफैँ राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलनमा केन्द्रित छ ।
‘एकीकृत समाजवादीले विपक्षीको पहिलो दिनको बैठकदेखि नै गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने मत राखेको हो,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘उहाँहरूको कुरा मिडियामा मात्रै हिजो सार्वजनिक भएको हो ।’
रास्वपाले गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने जनाएको छ । माओवादीसँग पनि आफूहरूको आन्तरिक कुरा भइरहेको पनि रास्वपाले जनाएको छ ।
त्यस्तै उनले राप्रपासँग पनि साथ दिन सहयोग मागिरहेको बताए ।














