पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ को लेकसाइड स्थित गल्ली नम्बर ८ मा बस्ने विष्णुमायाँ थापाले लेकसाइडको गौरीघाटमा रहेको सार्वजनिक धारामा पानी भर्न बिहीबार झण्डै दुई घण्टा पछि पालो पाइन् । यसरी पानी भर्नका लागि घण्टौं लाइनमा बस्नु समान्य जस्तै भएको विष्णुमायाँको प्रतिक्रिया थियो ।
उनी लाइनमा बसिरहँदा उनीजस्तै धारामा जार भर्न लाइन मिलाइरहेका अरुहरुपनि देखिन्थे । उनले आफू विहान ९ बजे आएर पानी भर्दा धेरै पटक दिउँसो एक बजे पालो पाएको अनुभव समेत सुनाइन् । घरमै आउने जारको पानी पिउँदा खल्लो लाग्ने भएकाले यसरी पालो कुरेरै भएपनि विगत एक वर्षदेखि उनी र उनको परिवारले यहीँबाट कुरेरै घरमा पानी लैजाने र उपयोग गर्ने गरेका छन् ।
विष्णु मायाँजस्तै लेकसाइडका ३१ वर्षीय अजय भण्डारी पनि पानी भर्ने लाइनमा थिए । पानी मिठो र स्वच्छ भएकाले यसरी पानी लिन लाइनमा बसेको उनले सुनाए । विष्णुमायाँ र अजय मात्र होइन लेकसाइडको अम्बोट र अन्य ठाउँमा रहेका धारामा यसरी पानी लिन आउनेहरुको घुइँचो देखिन्छ ।
मासबारका भक्तबहादुर थापामगर पानी चिसो र मिठो भएका कारण आफूपनि यसरी पानी लिन आउने गरेको सुनाउँछन् । सहिदचोकदेखि जरेबरतिरका मानिस पिउने पानी लिनका लागि यहाँ आउने गरेको उनले बताए ।
विगतमा पानी नपाएर उकालो ओरालो गर्दै हिँडेर घण्टौं कुरेर गाग्रीमा पानी बोक्नु बाध्यता थियो । अहिले त्यस्तो झण्झट कम्तिमा पोखरा सहर र यसको आसपासमा छैन । लेकसाइड जस्तो अत्यन्त सुगम ठाउँमा यसरी ‘एक जार पानी भर्न घण्टौं किन लाइनमा बस्नु परेको होला ?’ पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेल मुलको पानी, पीउँदा मिठो र स्वच्छ भएकाले न्युरोड, नयाँबजार, अम्मरसिंहचोक र महेन्द्रपुल लगायतका विभिन्न ठाउँबाट पानी भर्न गौरीघाट र लेकसाइडका अन्य धारामा यसरी मानिसहरु आउने गरेका छन् । पहिले बाध्यता भएपनि अहिले भने मिठो र स्वच्छ पानी पिउने रहरले यसरी लाइन बसेरै पानी लैजाने गरेको उनको भनाई छ ।
गौरीघाटमा रानीबन आर्किटेक रिसोर्टका सञ्चालक समेत रहेका भुजेलले गौरीघाटको धारामा २४ घण्टामा राति १२ बजेदेखि ३ बजेसम्मको समय बाहेक अरु समयमा जार भर्न लाइन लाग्ने गरेको सुनाए ।
उनका अनुसार गौरीघाटसहित लेकसाइडका अरु पाँच ठाउँमा फेवा ताल पारी रानीबनमा रहेको मोवा खोलाबाट ताल मुनीबाटै पाइप हालेर पानी ल्याइएको छ । पानी प्राविधिक रुपमा चेकजाँच गर्दा पनि बाहिर जार र अरु धारामा पाइने सामान्य पानीभन्दा धेरै नै गुणस्तरको पाइएकाले पिउन अत्यन्त उपयोगी रहेको उनले बताए ।














