पोखरा ।
कास्की प्रहरीले पोखराको सृजनाचोकको एक रेष्टुरेण्टमा छापा मारेर पाँचजना महिलाको उद्दार गरेको छ । महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
सृजनाचोकमा रहेको ‘मोनिका रेष्टुरेण्ट’ मा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । सो क्रममा ५ जना महिलालाई गरी सुरक्षित आवास (सेफ हाउस) मा राखिएको कास्की प्रहरी प्रवत्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये एक जना महिला रेष्टुरेण्ट सञ्चालक मकवानपुरको वकैया गाउँपालिका ४ की ४० वर्षीया पदम लुङ्बा, कास्कीको मालेपाटन निवासी ५१ वर्षीय तेजनारायण र तनहुँ व्यास नगरपालिका ५ का २१ वर्षीय सलन गुरुङ छन् ।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाई यौन शोषणमा लगिएको आशंका गरिएको छ । यस घटनाले पोखरामा बढ्दो यौनजन्य अपराध र मानव तस्करीप्रति प्रहरी सतर्क रहेको सन्देश दिएको छ। प्रहरीले मानव वेचविखनमा संलग्न अन्य व्यक्तिहरुको खोजी समेत तीव्र पारेको जनाएको छ।















