पोखरा ।
सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य एवं युवा नेता देवेन्द्र बास्तोलाको निधन भएको छ । पोखराको फूलबारी घर भएका ४६ वर्षीय बास्तोलाको मोटरसाइकल दुर्घटनामा परेर शनिबार निधन भएको हो ।
शनिबार लेखनाथ तालवेंसीमा उनी सवार मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएका बास्तोला अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा एमालेबाट अध्यक्ष पदका उम्मेदवार थिए ।
उनी हाल पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए । लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध थिए । उनका आमा, श्रीमती र छोरा छन् ।














