सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता

सरकार जसरी प्रस्तुत हुन्छ, हामी पनि त्यसैगरी प्रस्तुत हुन्छौं : महासंघ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ ।

सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ ।

शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।

यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्‍बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताले बताउँदै आएका छन् ।

मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।

शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था,निमावि प्रथम र ममावि द्वितीयको तलबम, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ ।

ऐनमा समावेश नगरी मन्त्रिपरिषद्‍बाट हुने निर्णय भएमा र ऐन जारी गर्ने समय तोकेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघले बताएको छ ।

  • १७ बैशाख २०८२, बुधबार १३:०३ प्रकाशित