फेवातालको गाइघाट क्षेत्रमा थुप्रिएको माटो र फोहोर हटाइँदै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरको वडा नम्बर ६ र १७ मा पर्ने गाईघाटको टापु हटाएर फेवाताल चक्ल्याइने भएको छ । पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर यहाँ फेवाताल पुरिँदा टापु जस्तो जमिन बनेको छ ।

पोखरा महानगरले यहाँको माटो हटाउन यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ । यहाँको करिब ३० रोपनी क्षेत्रमा २० हजार घनमिटर जति माटो र फोहोर भएको अनुमान छ । या वर्ष ४ हजार ५ सय घनमिटर माटो निकाल्ने पोखरा महानगरका वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीले बताए ।

यसका लागि वातावरणीय अध्ययन गरी यही हप्ता टेन्डर आह्वान गर्ने तयारी छ । ताल पर्ने माटो निकाल्ने र खोलाका ठाउँ ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर र माटो आउन नदिने योजना छ । महाशाखा प्रमुख कार्कीका अनुसार यो वर्ष गाइघाटमा अस्थायी चेक ड्याम बनाउने र ठाउँ ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर नपुग्ने गरी काम गर्ने योजना छ ।

यहाँको माटो र फोहोर हटाउन वातावरण संरक्षणका लागि महाअभियानले बारम्बार आवाज उठाउँदै आएको थियो । अभियन्ता रामबहादुर पौडेलले सकारात्मक काम सुरुआत भएको बताउदै गाइघाटमा निर्माण भएको टापु हटाएर सके स्थायी नभए अस्थायी चेक ड्याम बनाएर भए पनि ताल जोगाउनु जरुरी रहेको बताए ।

पोखरा महानगर फिर्के खोलाको खोला घरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने योजनामा छ । नाप जाँच गरी खोला घर भत्काउन महानगरले पोहोर कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले पुस १६ खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलिसकेको छ ।

  • ३ बैशाख २०८२, बुधबार ११:३६ प्रकाशित