खाना पकाउने एलपी ग्यासमा मूल्य विभाजन गरिने, घरायसी प्रयोगका लागि नागरिकता आवश्यक पर्ने

केन्द्रभाग मिडिया

काठमाडौ ।
खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोजनार्र्थ सिलिन्डरलाई छुट्याएर मुल्य फरक फरक बनाइने भएको छ । खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई दुई प्रकारमा विभाजन गरी बिक्री वितरणका लागि आयल निगमले अन्तिम तयारी गरिरहेको छ ।

निगमले एलपी ग्यासमा धेरै घाटा भइरहेको भन्दै पेट्रोलियम पदार्थबाट पूर्ति भइरहेको बताएको छ । ग्यासमा निगमलाई अहिले प्रतिदिन ३ करोड र मासिकरूपमा १ अर्बभन्दा धेरै घाटा रहेको छ । १४.२ लिटरको ग्यास १ हजार ९ सय १० रूपैयाँमा बिक्री भइरहेको छ । निगमका अनुसार प्रतिसिलिन्डर लागत भने २ हजार २ सय ६ रूपैयाँ रहेको छ ।

निगमले सिलिन्डरमा दुई प्रकारको मूल्य लागू गर्न लागेको हो । जसअन्तर्गत उद्योगलाई लागत मूल्य अर्थात् २ हजार २ सय ६ रूपैयाँमा बिक्री गर्नेछ । भने, उपभोक्ताले भने १ हजार ९ सय १० रूपैयाँमा नै पाउने छन् ।
हाल दैनिक रूपमा करिब १ लाख सिलिन्डर एलपी ग्यास बिक्री भइरहेकोमा ६० प्रतिशतभन्दा धेरै व्यवसायिक प्रयोजनार्थ खपत भइरहेको छ ।

आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले उद्योग र उपभोक्ताका लागि छुट्टाछुट्टै मूल्य तोक्ने तयारी भइरहेको बताए । उनका अनुसार उपभोक्ताले प्रति सिलिण्डर अहिलेकै मूल्य १ हजार ९ सय १० रुपैया र उद्योगले लागत मूल्य २ हजार २ सय ६ रुपैयामा किन्नुपर्ने छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले औद्योगिक र घरायसी प्रयोजनको मूल्य पनि फरक हुने बताए । अहिले मूल्य तोक्नेबारे मन्त्रालयमा छलफल भइरहेको बताउदै भट्टले छलफलमा राष्ट्रिय परिचय पत्रलाई आधार मान्ने या नागरिकतालाई भन्ने विषय उठेको र सवै नागरिक संग राष्ट्रिय परिचय पत्र नभएकाले नागरिता देखाएरै उक्त सेवा सुरु गर्ने र अबको एक महिनामा उद्योग र घरायसी प्रायोजनमा प्रयोग हुने ग्यासमा मूल्य फरक हुने बताए ।

निगमले ग्यासमा दुई थरी मूल्य कायम गरेपछि ग्यास उपभोक्ताले आफ्नो नागरिकताको कपी राखेर ग्यास खरिद गर्न सक्ने छन् । एकजना व्यक्तिले वर्षमा २ वटा ग्यास घरायसी प्रयोजनका लागि थोरै मूल्यमा अर्थात् निगमको लागत मूल्यभन्दा कममा किन्न पाउने छन् । घरमा भएका सदस्य प्रत्येकले दुई सिलिन्डर पाउने छन् ।

निगमका अनुसार साना होटेल वा ग्यास प्रयोग हुने साना उद्योगले पनि लागत मूल्यमा नै ग्यास खरिद गर्नुपर्ने हुन्छ । जस्तै कुनै व्यक्तिको ४ जनाको परिवार छ र उसले सामान्य होटल चलाएको छ भने, उसको परिवारले वर्षमा ८ वटा ग्यास सिलिन्डर पाउने छ । होटेलमा वर्षमा ८ वटाभन्दा धेरै सिलिन्डर प्रयोगमा आए औद्योगिक प्रयोजनकै मूल्य तिर्नुपर्ने हुन्छ ।

  • २७ चैत्र २०८१, बुधबार १२:५० प्रकाशित