काठमाडौं ।
गते चैत्र १५ गते राजावादी प्रदर्शनकारीको समुहले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्डहरुलाई भाटभटेनी सुपरमार्केटले नगद सहित सम्मान गरेको छ ।
सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो भने अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ र सोही बेला ड्युटीमा रहेका थप दुई जनालाई जनही २५ हजारका दरले सम्मान गरेको हो ।
कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित सम्मानित गरेका हुन् । सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए ।
पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ सङ्ख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियोमा देख्न सकिन्छ ।













