डब्लूएचओको चेतावनी :’ओमिक्रोन र डेल्टाले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ ।

समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । पछिल्लो समय युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ । फ्रान्समा लगातार दोस्रो दिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोल्यान्डमा कोरोनाको चौथो लहर तीव्र रूपमा फैलिइरहेको छ ।

पोल्यान्डमा बुधबार मात्रै कोरोनाका कारण ७९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु भएकामध्ये तीन चौथाइले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ ।

पछिल्लो समय विश्वभर कोरोनाको ओमिक्रोन भेरिएन्ट नै हाबी भएको विज्ञहरूको भनाइ छ । डेल्टाको तुलनामा यसबाट हुने जोखिम कम भए पनि यसैका कारण संक्रमणमा तीव्रता आएको जनस्वास्थ्यविद्को भनाइ छ ।

डब्लूएचओका महानिर्देशक डा। टेड्रोस एडहानोम गेहब्रेयससले पनि डेल्टा र ओमिक्रोन नै विश्वमा तीव्र रूपमा भइरहेको संक्रमणको प्रमुख कारण भएको बताएका छन् । बुधबारको वक्तव्यमा महानिर्देशक टेड्रोसले भनेका छन्, ‘भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ । यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ।’ बीबीसीबाट

  • १५ पुष २०७८, बिहीबार १४:०८ प्रकाशित