काठमाडौँ ।
विपक्षी चारदलीय समाजवादी मोर्चाद्वारा चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ छ ।
मोर्चाका सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले आ–आफ्नै दलले जुलुस निकाल्ने र एक ठाउँमा आएर मिसिने गरी भागबन्डा गरिएको जानकारी दिए । यादवका अनुसार कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।
अर्का एक नेताका अनुसार मोटामोटी चार दलीय क्षमता अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने भाग परेको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ ।














