नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘बाराबाट अभियान सुरु गर्दा नै हामीले चितवनमा पुगेपछि अभियान पुनः केही दिनका लागि रोक्ने भनेका थियौँ,’ आचार्यले भने, ‘चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने छ।’
अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम आज नभए पनि अहिले माओवादी अध्यक्ष प्रचण्ड चितवनमै छन्। अध्यक्ष प्रचण्ड आज साँझ काठमाडौँ आइपुग्ने आचार्यले बताए।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ।














