काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुगेदर फर टुमरो ः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
समस्याहरू छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ,’ प्रधानमन्त्री ओलीले भने । साथै, उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको जिकिर गरे ।
‘हामीले थुप्रै मेडिकल कलेजहरू बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।’
अहिलेको समय उपलब्धिको समय रहेको भन्दै उनले भावनात्मक रुपमा मात्रै चल्न नहुने पनि बताए ।
‘प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह पनि गरे ।














