धवलागिरि ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ ।













