पोखरा ।
कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोवार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई यही २३ फागुनको शुक्रबार साँझ ५ बजे कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाको कमाण्डमा खटिएको संयक्त प्रहरी टोलीले पोखरा-१४ अनुपम टोलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतको जलजला –३ का हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी –५ घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ रहेका छन् । त्यसैगरी, म्याग्दीको रघुगंगा –२ घर भई हाल पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, म्याग्दीको बेनी –२ घर भई हाल अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीको रघुगंगा –२ घर भई हाल पोखराको चाउथेमा बस्ने २८ वर्षीय सन्दीप कटुवाल रहेका छन् ।
रुपेन्द्र जिसीको साढे तीन तल्ले घरबाट क्रिप्टोकरेन्सी कारोवार, अनलाइन जुवा र सट्टाबाजी जस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त शर्माले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानका क्रममा उनीहरूले आफन्तको नाममा विभिन्न बैंक खाताहरू खोली कारोवार गरेको खुलेको छ । ह्वाट्सएप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत सञ्चालित जुवा खेलमा हालसम्म १५ करोड रुपैयाँ बराबरको ग्याम्बलिङ कारोबार र १५ करोड बराबरको क्रिप्टोकरेन्सी कारोवार भएको देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
उनीहरूले दैनिक तीन सिफ्टमा खेल सञ्चालन गर्ने, एक सिफ्टमा कम्तीमा ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बसन्त शर्माले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट ३१ थान मोबाइल, २ वटा कम्प्युटर मोनिटर, ३ वटा सिपीयु, ४ वटा ल्यापटप, १ वटा आइप्याड, ४ वटा राउटर, ३ वटा पेनड्राइभ, १ वटा हार्डडिस्क, नगद ७२ हजार रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको छ ।















