नयाँदिल्ली ।
भारतको उत्तराखण्ड राज्यको चमोलीस्थित माणामा हिमस्खलन भएको छ । शुक्रबार हिमस्खलन हुँदा सडक निर्माणमा कार्यरत ५७ मजदुर फसेकोमा १६ जनाको उद्धार गरिएको छ ।
४१ मजदुर हिमस्खलनमा फसेको अधिकारीहरूको भनाइ छ । उद्धार गरिएका मजदुरलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल पठाइएको छ । चमोलीका जिल्लाधिकारी सन्दीप तिवारीले माणा गाउँ र माणा पासको बिचमा हिमस्खलन भएको सूचना प्राप्त भएको जानकारी दिए ।
उनले भने, ‘सेनाको आवतजावतका लागि सडक मार्गका हिउँ हटाउन खटिएका मजदुर घटनास्थल नजिकै भएको जानकारी पाएका छौँ ।’
घटनास्थलमा उद्धार टोली परिचालन गरिएको उनले जानकारी दिए ।सो क्षेत्रमा वर्षा र हिमपात भएको बताइएको छ । त्यसैले उद्धारमा हेलिकोप्टर प्रयोग गर्न नसकिएको अधिकारीहरू बताउँछन् ।














