पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमुना मतदान कार्यक्रम गरेको हो ।

बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो । क्याम्पसमा अध्ययनरत करिब १ हजार ३ सय जना विद्यार्थी नमुना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिए ।

२०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताए । नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए ।

महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्यो विरासतलाई जोगाउनुपर्ने बताए । उक्त अवसरमा अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु पोखरेल, ले स्ववियु निर्वाचन हुने वातावरण बनाउनुपर्ने पक्षमा आफूहरू रहेको सुनाए ।

स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ ।

 

  • १३ फाल्गुन २०८१, मंगलवार १८:५४ प्रकाशित