विवादित धर्मगुरु विजय कृष्णमूर्तिको विवादास्पद् अभिव्यक्ति ‘धर्मका नाममा अधर्म गर्न तयार छु’

केन्द्रभाग मिडिया

पोखरा ।
विवादित धर्मगुरु विजय कृष्णमूर्तिले धर्मका लागि आफू अधर्म पनि गर्न तयार रहेको बताएका छन् । आइतबर विहान मानवसेवा फाउण्डेसनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पोखरामा मानवसेवा फाउण्डेसनले गर्ने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ बारे प्रश्न उठेका बेला उनले आफूले उक्त कोटिहोम गरेरै छाड्ने बताए । उनले भने, ‘जस्तोसुकै परिस्थिति आएपनि यो यज्ञ रोकिनेवाला छैन । जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुनेछैन । यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ ।’ उनले थपे, ‘धर्मका लागि अधर्म पनि गर्न पर्छ भने विजय कृष्णमूति तयार छ ।’

फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ । त्यसका लागि भन्दै पोखराका चौताराहरुमा रहेका सयौं वर्ष पुराना रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले काटेको छ । पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ९ वटा ठुला रुख नपलाउने गरी ठुट्याइएको छ । तर, कृष्णणमूतिले ती रुखहरु आफूले नकाटेको र महानगरले नै विगतमा काटेर दोष आफूहरुलाई दिएको आरोप लगाए ।

उनले काम गर्ने क्रममा रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान आफू तयार रहेको पनि उल्लेख गरे । यस्तै उनले रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने पनि बताए । उनले पोखरामा हुने महायज्ञमा कुनै वातावरण प्रदूषण नहुने दाबी गरेका छन् ।

महायज्ञस्थलको हल अत्याधुनिक हुने र कुनै ध्वनि बाहिर ननिस्कने दाबी गरेका उनले ध्वनीप्रदुर्शण र वातावरण दुषित हुने भनेर गरिएका चर्चा हास्यास्पद रहेको उल्लेख गरे । यस्तै उनले लेकसाइडमा २५ हजार भन्दा बढी भक्त बाहिरबाट ल्याउने भन्दै कार्यक्रम सफल बनाइने बताए ।

 

  • २७ माघ २०८१, आईतवार १२:३० प्रकाशित