काठमाडौं ।
सामाजिक सञ्जाललाई मर्यादित र सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको विधेयकविरुद्ध सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूले विरोध अभियान घोषणा गरेका छन् । केही दिनयता ‘बोल्न दे सरकार’ अभियान नै चलाएर उनीहरूले विधेयकको विरोध गर्दै आएका हुन् ।
सामाजिक सञ्जालका विभिन्न ग्रुप र पेजहरूमार्फत प्रयोगकर्ता र क्रिएटरहरूले पनि विधेयकका कतिपय व्यवस्था आपत्तिजनक भएको टिप्पणी गरेका छन् । फेसबुकमा रहेका एनसीए नेपाल, पेन्टेस्टर नेपालजस्ता सूचना प्रविधिसम्बन्धी युवाहरूको समूहले ‘हाम्रो अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र ह्याक्ड भयो’ भन्दै विधेयकको विरोधमा विभिन्न पोस्ट गरिरहेका छन् ।
सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरूले सामूहिक रूपमै सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै यसलाई सच्याउन पनि आहवान गरेका छन् । जनसरोकार र समसामयिक विषयवस्तुहरूमा एक्स्प्लेनर भिडियो बनाउँदै आएका इन-डेप्थ स्टोरीका सुदिप सुवेदी, द नेपाली कमेन्टका दिपेश त्रिपाठी, प्रोजेक्ट कुराका सरोज कार्की, र्यान्डम नेपालीका राष्ट्र विमोचन तिमल्सिना, ह्वाइ सो अफेन्डेडका विनायक कुँइकेल र मिसगाइडेड नेपालका अमृत थापाले प्रश्न सोध्न र जवाफदेहिता खोज्न पाउने आफूहरूको अधिकार भएको भन्दै ‘बोल्न दे सरकार’ ह्यासट्याग अभियान घोषणा गरेका छन् ।
सइन(डेप्थ स्टोरिका सुदीपले विधेयकका कतिपय प्रावधानले अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष हस्तक्षेप गर्ने बताए । उनका अनुसार विधेयक सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भन्दा प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरहरूलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको देखिन्छ ।














