‘स्टन्ट’बाजीबाट देश चल्दैन : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् ।

नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए ।

राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै पक्ष कटिबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए ।

सरकार कानुन व्यवसाय र युवाहरूको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने प्रधानमन्त्रीले विश्वास दिलाए ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

  • १६ माघ २०८१, बुधबार १२:२७ प्रकाशित