पोखरा ।
यही २६ माघमा पोखरामा १९९० को दशकमा घन्किएका ब्याण्डहरु घन्किने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको अयोजनामा ब्याक टु नाईन्टिज विरासत फर्केर हेर्दा कार्यक्रम गर्न लागिएको आइतबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको छ ।
‘ब्याक टु नाईन्टिज, विरासतलाई फर्केर हेर्दा’ कार्यक्रमको तयारी धेरै अगाडि बढेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशको कला, साहित्य, संगीत र संस्कृतिको विकास, विस्तार, सम्बर्द्धन र प्रवर्द्धनका लागि हुने कार्यक्रम २६ माघको शनिबार सांझ ५ बजेदेखि ९ बजेसम्म पोखरा–९ नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ ।
कार्यक्रममा पोखरेली व्याण्डहरु कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), बोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) र भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा कुनैबेला ब्याण्डहरुको राजधानीको रुपमा चिनिन्थ्यो । ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र सगीतमार्फत ध्यान तानेका थिए । लामो समय अन्तरालमा आ-आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान विस्तारै सुस्ताउँदै गएको भन्दै फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति दिन कार्यक्रम गर्न लागिएको पोखरा सागीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) ले जानकारी दिए ।
कायक्रमको मुख्य उद्देश्य सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्नु, पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु रहेको बताइएको छ ।
कार्यक्रममार्फत पोखरालाई रिव्राण्डिङ गर्ने, गीत र सगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई सगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नेलगायतका उद्देश्यले कार्यक्रम हुन लागेको पूर्वअध्यक्ष सुनिल थापाले बताए । उनले अहिले मौलिक गीहरु हराउँदै गएको समेत चिन्ता प्रकट गरे ।
कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिपनि गठन गरिएका छन् ।
कार्यक्रम सम्पन्न गर्न करीब २५ लाख खर्च हुने अनुमान गरिएको छ भने ३ लाख बचत गर्ने लक्ष्य लिइएको छ। बचत रकम कलाकार अक्षयकोषमा राखिएको प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । पोखरेली कलाकारहरुको साझा संस्था रुपमा रहेको पोखरा सांगीतिक कलाकार संघले समग्र कलाकारिता र कलाकारको उत्थानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
संघले कलाकारको हक, हित र अधिकारको पक्षमा आवाज उठाउने, आपसी सद्भाव, सदाचार र सुसम्बन्ध कायम गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने, कलाकार अक्षयकोष स्थापना गरि समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्नेलगायतका कार्यपनि गर्दै आएको छ ।















