काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ ।
बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही २५ पुसमा धरौटीमा रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ।