पोखरा ।
नेता डा. भीम रावलले आज बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दैछन् । एमालेबाट निस्कासनमा परेका नेता डा. रावलले आज आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार भेटघाट गर्न लागेका हुन् ।
नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार भेटघाट गर्ने उनले यस अगाडि नै सार्वजनिक गरेका थिए । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । उनले यसबीचमा नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेका दाबी गरिएको छ ।














