चितवन राष्ट्रिय निकुञ्जमा ४ महिनामा १० करोड बढी राजस्व संकलन

घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

केन्द्रभाग मिडिया

नवलपरासी ।

चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ ।

निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा रु १० करोड ६७ लाख एक हजार नौ सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

यसैबिच यस अवधिमा निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको छ । पाँच वर्षमाथिका घडियाललाई विभिन्न तीनपटकमा गरी ४० पोथी र एक भाले राप्ती नदीमा लगेर छाडिएको अधिकृत थापामगरले जानकारी दिए । निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको उनले बताए।

निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

  • ४ पुष २०८१, बिहीबार ०९:४९ प्रकाशित