पहिचान नभएका शवको सनाखतका लागि डीएनए परीक्षण जारी

केन्द्रभाग मिडिया

काठमाडौंं ।

गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी छ।

बाढीमा परेर ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूसँग वंशाणुगत सम्बन्ध भिडाई सनाखत गर्नका लागि आफन्तहरूले नमूना सङ्कलन गराउन थालेका हुन्।

विनाशकारी प्राकृतिक विपत्तिमा परी हालसम्म १ हजार २ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी अझै बेपत्ता छन्। बेपत्ता भएका आफ्ना आफन्तहरूको अवस्था अज्ञात रहँदा परिवारजनमा बेचैनी बढेको छ। विभिन्न अस्पतालमा रहेका बेवारिसे शवहरूमध्ये आफ्ना आफन्त हुनसक्ने आशङ्कामा परिवारका सदस्यहरू डीएनए परीक्षणका लागि काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा लामबद्ध भएका छन्।

प्रहरी अस्पतालका अनुसार मृतकको पहिचान सुनिश्चित गर्न आफन्तहरूको रगतको नमूना सङ्कलन गरी परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको हो। बाढीमा परी हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई सरकारले निरन्तरता दिइरहेको छ। फेला परेका शवहरूको पहिचान हुन नसक्दा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी परिवारलाई बुझाउने तयारी गरिएको छ।

  • १८ भाद्र २०८३, बिहीबार १४:४२ प्रकाशित