नेकपा एसको बैठक सकिदै : आज संविधान संशोधनबारे धारणा बनाउने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

पार्टीको बार्षिक कार्ययोजना र नेताहरुको कार्यविभाजन गरेर नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार सकिने भएको छ ।गत बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालले पेश गरेको ‘आन्दोलनद्धारा पार्टी निर्माण’, शीर्षकको कार्ययोजनामाथि स्थायी समिति सदस्यहरुले शनिबार धारणा राख्नेक्रम सकिएको छ ।

आइतबार बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले धारणा राखेपछि नेताहरुको कार्यविभाजन समेत गरेर बैठक समापन गर्ने तयारी रहेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

आइतबारको बैठकमा उपाध्यक्ष जगन्नाथ खतिवडा,जयन्ति राई गङ्गालाल तुलाधर, नेताहरु चन्द्रबहादुर शाही,गणेश बिक,माधव पौडेल,गरिमा शाह,कल्याणी खडका,विजय पौडेल,नागेन्द्र चौधरी,बलराम बाँस्कोटा,विश्वनाथ प्याकुरेल,रामचन्द्र यादव,शत्रुधन महतो, साध्य बहादुर भण्डारी,जीवनराम श्रेष्ठ,श्रीप्रसाद साह र भरत श्रेष्ठले धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांश नेताहरुले पार्टी निर्माण गर्न सवैलाई उचित जिम्मेवारी दिएर नेता कार्यकर्ता परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
‘संघर्ष गरेर पार्टी निर्माण गर्ने भन्ने महासचिवको कार्यायोजनामा केन्द्रीत भएर छलफल भएको छ’, नेता जीवनराम श्रेष्ठले भने, ‘जनता र राष्ट्रका मुद्दा उठाउनुपर्छ भन्नेमा सवैको साझा मत देखिएको छ ।’

बैठकले ठोस योजनाहरु अघि सार्ने भन्दै श्रेष्ठले संसद र संविधान संशोधनका विषयमा समेत पार्टीको धारणा तय गर्ने बताए ।

  • ३० मंसिर २०८१, आईतवार १०:४८ प्रकाशित