गाजा ।
गाजामा इजरायले हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनी मारिएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासले मारिनेमा मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर पनि रहेको जानकारी दिएको छ।
त्यहाँ १३ जनाको ज्यान गइसकेको छ भने १० जना उपचारका लागि आएको चिकित्सकहरुले बताएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चासहित सात जनाको ज्यान गएको छ। इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ। इजरायलले धेरै पटक विद्यालयलाई हमासले आफ्नो आधारका लागि प्रयोग गरिरहेको बताएको छ, तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।
गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको ज्यान गएको छ ।