कसैलाई भ्रम नहोस्, देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : डा.शशाङ्क कोइराला

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशाङ्क कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् ।

आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा।कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् ।

पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टिप्पणी गर्न जरुरी नरहेको बताएका डा.कोइरालाले मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको प्रस्ट पारे ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका उनले भने– ‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो । यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस् । मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ ।’

कांग्रेसमा जबरजस्त आफैँलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा। कोइरालाले यी घटनामा अनेक प्रपञ्च थिए भन्ने पनि प्रस्ट रहेको बताए ।

  • १३ मंसिर २०८३, आईतवार १७:१२ प्रकाशित