काठमाडौं ।
राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ ।
आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पार्टीले हरेक समुदायका मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने माग गरेको हो । पार्टीले यस वर्षदेखि मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउनसमेत सुरु गरेको छ ।
पार्टीका अध्यक्ष केशव सूर्यवंशीले कुनै पनि समुदायको मातृभाषालाई राज्यले संरक्षण नगर्दा त्यस समुदायको अनुभव, सीप, सभ्यता, इतिहास र मौलिकता नै लोप हुने जोखिम रहेको बताए । उनले मातृभाषाको संरक्षणलाई राज्यको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनका अनुसार इलामको माङ्सेबुङ गाउँपालिका–५ मा २०७५ मंसिर १३ गतेदेखि सरकारी कामकाजको भाषाका रूपमा लिम्बू मातृभाषा ९याक्थुङरलिम्बू० को प्रयोग सुरु भएको थियो । उक्त ऐतिहासिक दिनलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
यसले मातृभाषाप्रति राज्यको बहुभाषिक राष्ट्रिय नीतिलाई व्यवहारमा उतार्ने ऐतिहासिक प्रस्थानबिन्दुका रूपमा काम गर्ने सूर्यवंशीले दाबी गरे ।
पार्टीले मातृभाषालाई राष्ट्रिय एकता, रैथाने ज्ञान, सीप, पहिचान, इतिहास र सभ्यताको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै यसको संरक्षण र सिर्जनात्मक विकासका लागि ‘मातृभाषा समृद्धि यात्रा’ अभियान सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।
त्यस्तै, पार्टी प्रवक्ता तथा उपमहासचिव चेतबहादुर आलेले २०८४ सालको राष्ट्रिय मातृभाषा दिवसका अवसरमा तीनदिने राष्ट्रिय मातृभाषा महोत्सव आयोजना गर्ने जानकारी दिए । नेपालका सबै मातृभाषाका दृश्य, श्रव्य तथा लेख्य सामग्रीको अवलोकन र मातृभाषी सर्जकबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।
आलेका अनुसार असोज २५ देखि २७ गतेसम्म रुपन्देहीमा सम्पन्न पार्टीको १२औँ राष्ट्रिय भेलाले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा मान्यता दिँदै सोहीअनुसार कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो ।
कार्यक्रममा पार्टीका संगठन विभाग उपप्रमुख विके रानाले मातृभाषाको संरक्षण र प्रवर्द्धनलाई राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता तथा सामाजिक एकताको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताए ।













