काठमाडौं।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको ठमेलबाट १५ करोडको कोकिनसहित ८७ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
मंसिर ११ मा कोरियन नागरिक सुक चोन ली पक्राउ परेका हुन् । उनले विमानस्थल हुँदै पास गराएको ३ केजी कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले जानकारी दिए।
ब्यूरोको टोलीले उनलाई ठमेल स्थित एक होटलबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा उक्त कोकिन लिन आएका भारतीय नागरिक दिपक उत्तम बाघमारेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनी भारतीय प्रहरीका जवान रहेको अनुसन्धानबाट थाहा भएको छ । उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ परिचयपत्र फेला परेको ब्यूरोका अनुसन्धान अधिकृतहरू बताउँछन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौँमा कोकिनको कारोबारमा कोरियन नागरिक पक्राउ परेको यो पहिलो पटक हो ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रति ग्राम ५० हजारका दरले करिब १५ करोड रुपैयाँ हुन आउँछ। पक्राउ परेका कोरियाली नागरिकले कोकिन पेरुबाट म्याड्रिड (स्पेन) र दोहा हुँदै नोभेम्बर २६ मा नेपाल ल्याएको अनुसन्धानबाट खुलेको छ । उनले यो कोकिन नेपालबाट भारतको मुम्बई पुर्याउने योजना बनाएका थिए।
पक्राउ परेका दुवै जना आरोपीमाथि ब्यूरोले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ।












