काठमाडौं ।
विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ । यही मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको हो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । ‘९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन ।’
बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताए । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ ।