भारतीय गुन्डा विश्नोईको नाममा धम्की दिने युवक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भएका हरि प्रसाद फुयाँल छन् । पक्राउ परेका व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो । उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ ।

सीआईबीबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ । उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ ।’

फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ । झापाको झापाको चारआलीबाट पक्राउ परेर काठमाडौं ल्याएका फुँयालले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ ।

‘नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ,’ सीआईबीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो ।

जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

  • १४ मंसिर २०८१, शुक्रबार १५:०२ प्रकाशित