पोखरा ।
आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताह २०८१ को समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङजाबाट सवैभन्दा वढी आयकर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्स्ट्रक्सनका सञ्चालक छविलाल अर्याललाई सम्मानित गरिएको हो ।
टेम्पल ट्री रिसोर्टले आर्थिक वर्ष २०७९/८० मा २३ करोड ४३ लाख ६ हजार ३४५ रुपैयाँ ३४ पैसाको कारोबार गरे वापत १ करोड ९७ लाख ७३ हजार ७८७ रुपैयाँ ३२ पैसा आयकरको रुपमा दाखिला गरेको थियो ।
त्यसैगरी स्याङजाबाट सवै भन्दा वढी आयकर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्स्ट्रक्सन स्याङजाका सञ्चालक छविलाल अर्याल सम्मानित भएका छन । खिलुङ कालिका कन्स्ट्रक्सनले ३ करोड ६० लाख ७ हजार ५७९ रुपैयाँ कर योग्य आय गरेकामा ७६ लाख ५१ हजार रुपैयाँ आयकर दाखिला गरेको हो ।
कर्मचारी तर्फ आन्तरिक राजस्व कार्यालय पोखराका नायव सुब्बा हरिसचन्द्र पौडेल र पुतलीबजार कार्यालयका नायव सुब्बा देवीश्री त्रिपाठी सम्मानीत भएका छन् । त्यस्तै कर दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुन सफल टीमका कृष्णहरी गौतम र कृष्ण पाण्ड, र र राष्ट्रिय कविता प्रतियोगितामा दोश्रो हुन सफल गण्डकी बोर्डिङ स्कूलकी आत्मिका सुवेदीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट करदाता तथा पुरस्कृत ब्याक्तिहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्मा लगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
कर सप्ताह कार्यक्रमको समापन एवं सम्मानका अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले करदाताहरुकै कारण बिकास निर्माणको आधार बन्ने बताए । राज्य सञ्चालनका लागि राजश्व आवश्यक पर्ने र त्यसका लागि निजी क्षेत्रको योगदान उल्लेख्य रहेको वताउदै पाण्डेले तुलनात्मक रुपमा राजस्व संकलन हुन नसकिरहदा नेपाल सरकारले कर तिर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागि कर सप्ताह लगायतका कार्यक्रम गरेको जानकारी दिए । कास्कीमा रहेका निजी क्षेत्रलाई राज्यको निकायबाट सुरक्षाका लागि प्रशासन कार्यालय हरदम तयार रहेको उनको भनाइ रहेको थियो ।
सम्मानित संस्था टेम्पट ट्री रिसोर्टका सञ्चालक बसन्त गौतमले आँफू पर्यटन क्षेत्रमा लागेर सम्मान पाउदा खुसी लागेको वताए । पर्यटन उद्योगका लागि कच्चा पदार्थ आवस्यक नहुने र त्यसका लागि नेपालमा नै दक्ष प्रयाप्त हुने भएकाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह मान्यता दिनुपर्नेमा जोड दिए । व्यवसायीहरुलाई करको बारेमा जानकारी दिन आवश्यक रहेको वताउदै उनले व्यवसायीहरु नियतबस नभइ नजानेर करको झमेलामा परिरहेको उनको भनाइ थियो ।
सो अवसरमा वोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले व्यवसायीहरुलाई कर तिर्नुपर्छ र करको दायरामा रहनुपर्छ भन्ने उद्देश्यले कर सप्ताहको कार्यक्रम आयोजना गरिएको वताए । कर सप्ताहको अवसरमा विभिन्न संघ संस्थाहरुसंग कर शिक्षा लगायतका कार्यक्रमहरु गरिएको उनले जानकारी दिए ।
यस क्षेत्रमा ६८ हजार १ सय ९६ वटा व्यवसाय र १ लाख ९० हजार व्याक्तिगत प्यान दर्ता रहेको उनले बताए । स्रोतमा करकट्टी गर्ने ५ सय २५ वटा संघ संस्था रहेको वताउदै उनले अझैपनि करको दायरामा ल्याउनका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको शर्माले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।