काठमाडौँ ।
रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् ।
उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिएका छन्। बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
कालिका गाउँपालिका–१ स्थित अस्थायी प्रहरी पोस्ट ग्राङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा बरामद धातुसहित उनलाई भन्सार कार्यालय टिमुरे पठाइएको डीएसपी भट्टराईले बताए ।