गत वर्षको तुलनामा सरकारको राजस्व करिब १७ प्रतिशतले वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ९२।५० प्रतिशत प्रगति हासिल भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ९०।२४ प्रतिशत प्रगतिहासिल भएको थियो ।
त्यसै गरी आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७४.५४ प्रगति भएको थियो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ ।

यसैमध्ये चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो ।

 

  • ६ मंसिर २०८१, बिहीबार १७:०३ प्रकाशित