जनप्रिय क्याम्पसमा स्पोटर्स मिट पुरस्कार वितरण

केन्द्रभाग मिडिया

पोखरा ।

जनप्रिय बहुमुखी क्याम्पसमा एसोसिएसन अफ बिबिए-बिआईएम स्टुडेन्ट (एबिबिएस) द्वारा आयोजित स्पोटर्स मिट–२०८१ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले बिबिए कार्यक्रम पहिलो पटक उपत्यका बाहिर सञ्चालन गर्ने संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको पहलको प्रशंसा गर्दै विगत २ दशकदेखि जनप्रिय सर्वोकृष्ठ ठहरिएकाले जेएमसीका विद्यार्थी अब्बल छन् भन्ने मान्यतालाई कायम राख्न सुझाव दिए । विजुक्छेले थपे, पढेर विदेश जाने सोचभन्दा माथि उठेर स्वदेशमै व्यापार, वाणिज्य, उद्योग, जागिर र उद्यमशीलतामा लाग्न आग्रह गरे ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले अब्बल पढाइ र सफलताका लागि विद्यार्थीमा निहित प्रतिभालाई उजागार गर्न क्याम्पसले २०६२ सालदेखि नै एबिएस गठन गरी स्पोटर्स मिट र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी गराए ।

बिबिए-बिआईएम कार्यक्रम संयोजक यामकुमार बरालले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता रह्यो भने व्यक्तित्व विकासमा सहयोग पुग्ने हुँदा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

स्पोटर्स मिटका विजयी प्रतिभालाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, क्याम्पस प्रमुख कृष्णबाबु बराल, निवर्तमान क्याम्पस प्रमुख रमेशबहादुर खड्का, बिबिए÷बिआईएम कार्यक्रम संयोजक यामप्रसाद बरालले पुरस्कार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । स्पोटर्स मिटमा क्रिकेट, फुटसल, भलिबल, फुटबल, बुद्धिचाल, बास्केटबल, टग अफ वार, टेबल टेनिस, व्याटमिन्टन लगायतका खेलहरू समावेश गरिएका थिए ।

एबिबिएसका अध्यक्ष लक्ष्मण विकको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उपाध्यक्ष प्रिया सिग्देलले स्वागत मन्तव्य राखेकी थिइन भने कञ्चन पौडेल र अनुज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • ३ मंसिर २०८१, सोमबार १७:१० प्रकाशित