पत्रकार असुरक्षित भएकोे भन्दै महासंघ गण्डकीले गरायो ध्यानाकर्षण

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो समय आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबाट नै पत्रकार असुरक्षित भएको भन्दै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीको नेतृतवमा गएको महासंघको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र कास्की प्रहरी प्रमुख श्यामबावु ओलियाको ध्यानाकर्षण गराएको हो । रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि रास्वपाले गरेको आन्दोलन र उत्पन्न परिस्थितिको समाचार संकलन गर्न गएका पत्रकार माथि सृंखलावद्ध रुपमा आन्दोलनरत पक्ष र सुरक्षाकर्मीले आक्रमण गर्ने, अभद्र व्यवहार गर्ने र सञ्चार सामग्री समेत तोडफोड गर्ने कार्य भएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ ।

महासंघ गण्डकी प्रदेश समितिले ध्यानाकर्षण पत्रमा पछिल्लो घटना ३० कात्तिकमा शुक्रबारको दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देहीबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याउने क्रममा उत्पन्न परिस्थितिको तस्बिर र भिडियो खिच्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्की अगाडि नै पोखरामा क्रियासिल पत्रकार एवं जनसंचार डटकमका सम्पादक ओम हमाल र समय नेपाल डटकममा कार्यरत सञ्चारकर्मी सन्देश बराललाई फोटो र भिडियो खिच्ने क्रममा रोक लगाउँदै दुव्र्यवहार भएको उल्लेख गरेको छ ।

त्यसैगरी पोखराको वाइचोकमा २० कात्तिकमा पत्रकारहरु इन्द्रप्रसाद पौडेल, विनोद लामिछाने र क्यामेरा पर्सन राजकुमार माझी माथि प्रहरीबाट नै कुटपिट, सञ्चार सामग्री तोडफोड र दुव्र्यवहार भएको जनाएको छ । आन्दोलनरत रास्वपाका कार्यकर्ताबाट सहिदचोकमा ४ मंसिरमा पत्रकार सागरराज तिमिल्सिना र सुशान्त गाहामगर माथि ढुंगा प्रहार गर्नुका साथै पत्रकार निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारी माथि दुव्र्यवहार भएको महासंघ गण्डकी प्रदेश समितिका महाचिव गोविन्द सुवेदीले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा ‘यसभन्दा अघिका विभिन्न राजनीतिक दल, दलहरु निकट भातृसंस्थाका साथै विभिन्न संघसंस्थाहरुले गर्ने आन्दोलनमा समेत आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबाट पत्रकार एवं सञ्चारकर्मी निरन्तर निसानामा पर्दै गएको दृष्टान्तले निस्पक्षरुपमा सञ्चारकर्म गर्ने पत्रकार असुरक्षित रहेको तथ्य उजागर भएको छ । संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक वर्तमान व्यवस्थामा समेत स्वतन्त्र प्रेस र पत्रकार माथि भएको यस प्रकारको असुरक्षाले आम सर्वसाधारणको अवस्था के होला भन्ने प्रश्न समेत उब्जिएको छ’ उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्वतन्त्रतापूर्वक बिना अबरोध समाचार संकलन, प्रकाशन र प्रशारण गर्ने अधिकारको व्यवहारिक रुपमै ज्ञारेन्टी गर्न र सुरक्षित महसुस् गर्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र सरोकारवालासंग माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा पछिल्ला घटनाक्रमको बारेमा महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले जानकारी गराएकी थिइन् । महासंघ केन्द्रीय सदस्य तिमिल्सिनासहित टोलीमा न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य माधव पनेरु, पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना र दुव्र्यवहारमा परेका पत्रकार ओम हमाल लगायतले समाचार संकलनका क्रममा सुरक्षाकर्मी र आन्दोलनरत पक्षबाट भएको अबरोध गरिएको व्यवहारका बारेमा जानकारी गराएका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले पत्रकारको सुरक्षामा देखिएको कमिकम्जोरी सच्याएर आगामी दिनमा सहज वातावरण सृजना गर्नेमा आफू प्रतिवद्ध रहेको बताए । उनले भीडमा समाचार संकलन गर्न जाँदा स्पष्ट पहिचानसहित जान जानपनि आग्रह गरे । कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले पत्रकारको ध्यानाकर्षण पछि यस विषयमा आफूले छानविन गर्ने प्रतिवद्धता जनाए । कम्जोरी आउने दिनमा हटाउन र प्रहरी पत्रकारको सम्बन्ध सहज बनाउने उनको थियो ।

 

  • २ मंसिर २०८१, आईतवार २०:११ प्रकाशित