काठमाडौँ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएका उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
ढुङ्गानाको निधनपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत फ्रन्टलाइन अस्पताल पुगेका थिए ।
सो क्रममा प्रतिनिधिसभाकी उपसभामुख रानाले आफूले ढुङ्गानालाई अभिभावको रूपमा लिएको र उनको निधनप्रति निकै दुख लागेको बताइन् ।
विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।